पोखरा विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने रिट्ठेपानी डाँडो काट्न वनको स्वीकृति

पोखरा विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने रिट्ठेपानी डाँडो काट्न वनको स्वीकृति

  • Kanchan News

  • बुधबार, असार १५, २०७९

  • 75
    SHARES
पोखरा विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने  रिट्ठेपानी डाँडो काट्न वनको स्वीकृति

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न जोखिमपूर्ण ठानिएको रिट्ठेपानी डाँडो कटान गर्न वन तथा भूसंरक्षण विभागले स्वीकृति दिएको छ । रिट्ठेपानी डाँडाका जोखिमजन्य अवस्थामा रहेका रूख तथा पोलहरू हटाउन स्वीकृति दिन वन विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सुरक्षाका लागि रिट्ठेपानी डाँडा कटान अनिवार्य मानिएको छ । जहाज उडान–अवतरणमा डाँडा अवरोधक बन्ने ठहर गर्दै ४० मिटर काट्नुपर्ने क्यानकै प्राविधिक टोलीको अध्ययनले देखाइसकेको छ । पोखरा विमानस्थलको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भइसकेको क्यानले जनाएको छ । विमानस्थल निर्माण, यन्त्र–उपकरण जडानलगायत सबै प्रक्रिया पूरा गरेर १ जनवरी २०२३ देखि व्यावसायिक उडान थाल्ने क्यानको लक्ष्य छ । तर, यसका लागि रिट्ठेपानी डाँडा र ल्यान्डफिल साइट व्यवस्थापन नै मुख्य चुनौतीका रूपमा रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएर सञ्चालनमा आउने वेलासम्म पनि पोखरा महानगरपालिकाले नयाँ ठाउँ खोजेर ल्यान्डफिल साइट व्यवस्थापन गर्ने विषयमा त्यति चासो देखाएको थिएन । छिटोभन्दा छिटो सम्पूर्ण कामहरू सकेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको पोखरा क्षेत्रीय विमानस्थल परियोजना प्रमुख बिनेश मुनकर्मीले बताए । उनका अनुसार विमानस्थलछेउमै ल्यान्डफिल साइट रहेको छ, जहाँ चराचुरुंगी र जनावरहरू आइरहने हुँदा जहाज उडान–अवतरणमा जोखिम हुन्छ । ‘रिट्ठेपानी डाँडा कटान गर्न कानुनी हिसाबले त खुला भयो, तर कटान गर्न अरू प्रक्रिया पनि अपनाउनुपर्छ, सार्वजनिक खरिद प्रक्रियामार्फत अगाडि बढ्दा अझै समय लाग्छ,’ मुनकर्मीले भने, ‘बर्खामा डाँडो कटान सम्भव नहोला, यही समय दुई महिनाजतिमा प्रक्रिया पुर्‍याएर डाँडो कटान सुरु गर्नेछौँ ।’

यो डाँडा कटानका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि वन मन्त्रालयले स्वीकृत गरिसकेको छ । रिट्ठेपानी डाँडा एउटा चुच्चोबाट ४० मिटर, अर्को चुच्चोबाट साढे १२ मिटर कटान गर्नुपर्ने हुन्छ । ‘डाँडो काटेर मात्र भएन, माटो व्यवस्थापन गर्नुपर्‍यो । तलपट्टि डाँडोलाई टेवा दिन बलियो पर्खाल बनाउनुपर्छ । यो सबै काम सम्पन्न गर्न ६–८ महिनाजति लाग्छ,’ उनले भने । विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक उडान) गर्न भने १४ मिटर डाँडो काटे पुग्छ । यो काम एक महिनामा सकिने मुनकर्मीको भनाइ छ ।

‘हामीले १४ मिटर डाँडो काटेर सेम्टेम्बरमा क्यालिब्रेसन फ्लाइट गर्ने तयारी गरेका छौँ,’ उनले भने । विमानस्थल सञ्चालनका लागि भलबाढी व्यवस्थापनको काममा भने समस्या नरहेको उनको भनाइ छ । यो विमानस्थल निर्माणमा करिब २२ अर्ब लगानी हुनेछ । चिनियाँ सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सुरु भएको विमानस्थल पोखरा क्षेत्रकै आर्थिक समृद्धिका लागि महत्वपूर्ण ठानिएको छ । तर, यो विमानस्थल सञ्चालनमा आउँदा पोखराकै आकर्षण मानिएको प्याराग्लाइडिङ उडान बन्द गर्नुपर्ने देखिएको छ । क्यानले अंग्रेजी नयाँ वर्षसम्म प्याराग्लाइडिङ अन्यत्र ठाउँ खोजेर सार्न निर्देशन दिइसकेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News