
मनसुनका कारण आउने बाढी र पहिरोका कारण यस वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ । जेठ २३ बाट नेपालमा मनसुन सक्रिय छ । कुल प्रभावित मध्ये ५ लाख मानिसलाई उद्धार र राहतको व्यवस्था गर्नुपर्ने प्रक्षेपण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले रातोपाटीलाई बताए । प्राधिकरणका अनुसार यस वर्ष २२ वटा जिल्ला पहिरोको उच्च जोखिममा छन् ।
यस वर्ष झापा, मोरङ र सुनसरीमा सबैभन्दा धेरै पानी पर्ने आकलन गरिएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा धेरै पानी पर्ने प्राधिकरणको आकलन छ । नवलपरासी, धादिङ, गोरखा, तनहुँ, हुम्ला र दार्चुलामा अत्यधिक पानी पर्ने आकलन गरिएको छ । मधेस प्रदेशमा औसत वर्षा हुने आकलन गरिएको छ ।
बाढीको उच्च जोखिममा २३ वटा जिल्ला छन् । इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी पहिरोको उच्च जोखिममा छन् । बाढीको उच्च जोखिममा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत कैलाली र कञ्चनपुर जिल्ला छन् । विगतमा आउने बाढी पहिरो र मौसम पूर्वानुमानको आधारमा बाढी र पहिरोको उच्च जोखिमयुक्त जिल्लाहरू वर्गीकरण गरिएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।
गृहमन्त्री बालकृष्ण खाँणसहित ४ जना मन्त्री सम्मिलित कार्यकारी समितिले सम्बन्धित मन्त्रालय र निकायहरूलाई जिम्मेवार बनाएर विपद् प्रतिकार्य योजना सहित राहत र उद्धारको तयारी गरेको छ । मनसुनबाट आइपर्ने विपद्का घटना उद्धारमा सुरक्षा संयन्त्र र राहतका लागी सम्बन्धित निकायलाई जिम्मेवार बनाइएको प्राधिकरणका प्रवक्ता भट्टराईले जानकारी दिए । उनले भने–‘प्रतिकार्य चाँडो गर्ने गरी योजना बनाएका छौँ ।’
उद्धारमा स्वयंसेवक परिचालन गर्ने प्राधिकरणको योजना छ । डा. भट्टराईका अनुसार ‘स्वयंसेवक ब्युरो परिचालन मापदण्ड’ तयार भएको छ । उद्धारमा स्थानीय तहमा युवाहरूलाई तालिम दिएर परिचालन गर्ने तयारी भइरहेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–०७४ आएपछि सरकारले प्राधिकरण गठन गरेर विपद् व्यवस्थापनबारे काम गरिरहेको छ । सो ऐन अनुसार नियमावली–०७६ जारी भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष ७२ जिल्ला बाढी र पहिरोको जोखिममा रहेको आकलन गरेको छ । ५१ जिल्लामा पहिरो र २१ जिल्लामा बाढीको जोखिममा रहेको प्राधिकरणले प्रक्षेपण गरेको छ । ती जिल्लाका ४ लाख २१ हजार घर परिवारका २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने प्राधिकरणको आँकलन छ ।