बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहँदा सरकारले भने न अनुगमन र हस्तक्षेपमा चासो दिएको छ न उपभोक्तालाई राहत दिने कार्यक्रम ल्याएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार खाद्यान्न, निर्माण सामग्री र ढुवानी सेवाको मूल्य बढेको छ । उनले मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजार र इन्धनमा भइरहेको मूल्यवृद्धि रहेको दाबी गरे । ‘करिब ९० प्रतिशत आयातमै निर्भर छौं । अन्तर्राष्ट्रिय कारणले पनि मूल्य बढेको देखिन्छ,’ शर्माले भने, ‘इन्धनमा मूल्यवृद्धि हुँदा ढुवानी भाडा बढ्छ । त्यसले बजार भाउ करिब ३५ प्रतिशतले उकालो लाग्छ ।’
चालु आर्थिक वर्षको १० महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ७.१३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । २०७८ वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा घिउ तथा तेलको मूल्यवृद्धि २४.८६, फलफूलको १२.६१, दुग्ध पदार्थ तथा अन्डाको ११.३०, दाल तथा गेडागुडीको १०.५३ र सुर्तीजन्य पदार्थको ९.७० प्रतिशत छ । चालु आर्थिक वर्षको १० महिनासम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातमा मूल्यवृद्धि २१.८१, शिक्षामा ११.६४ र मनोरञ्जन तथा संस्कृतिमा ८.२१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंकले सार्वजनिक गरेको तथ्यांकभन्दा बजारमा मूल्यवृद्धि बढी नै हुन्छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट पनि बैंकले सार्वजनिक गर्ने मूल्यवृद्धिको तथ्यांक र बजारमा वास्तविक मूल्यवृद्धिको तथ्यांक नमिल्ने बताउँछन् । ‘मूल्यवृद्धिको तथ्यांक गणना गर्ने राष्ट्र बैंकको छुट्टै विधि छ । ४ सय ९६ वटा वस्तुको एउटा बास्केट बनाइएको छ । सबैलाई फरक–फरक भार दिइएको छ । ती सबै वस्तुहरूको मूल्य दिनहुँ हेरिन्छ । सबै वस्तुको मूल्य लिएर औसत निकालिन्छ,’ उनले भने ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा उपभोक्ता मूल्यवृद्धि दर ४.१५ प्रतिशत थियो । २०७५/७६ मा बढेर ४.६४ प्रतिशत, २०७६/७७ मा थप बढेर ६.१५ प्रतिशत पुग्यो । २०७७/७८ मा भने मूल्यवृद्धि घटेर ३.६ प्रतिशत थियो । चालु आर्थिक वर्षको १० महिनामा भने मूल्यवृद्धि पुनः उकालो लागेर ५.८४ प्रतिशत पुगेको छ । गत साउनमा ४.३५ प्रतिशत रहेको मूल्यवृद्धि वैशाखसम्म आइपुग्दा ७.८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ३.६५ प्रतिशत थियो ।