
गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत् प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाउनु भएको हो । मुख्यमन्त्री निवासमा भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रबीलाल पन्थको सहभागिता रहेको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरू प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराउनु भयो । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मर्स्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत् आयोजनाहरू धमाधम बनिरहेको अवस्थामा विद्युत् प्रसारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको बताउनु भयो । गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उहाँको भनाइ थियो ।
मन्त्रीसन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिका साथमा प्राधिकरणसँग प्रदेश सरकारको अपेक्षाका बारेमा बताउनु भयो ।
कार्यकारी निर्देशक घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गरिहाल्ने प्रतिबद्धता जनाउनु भयो । पोखराको बिरौटामा अत्याधुनिक सबस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गर्नु भएको छ ।
अन्तका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्न कार्यकारी निर्देशक घिसिङले जानकारी गराउनु भयो । यो सबस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने समेत उहाँले बताउनु भयो ।
मोदीखोलामा रहेका परियोजनाहरूबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सबस्टेसन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ । दाना, कुश्मा, बुटवल प्रसारण लाइन अन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिटै सल्टाइने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।
मुख्यमन्त्री पोखरेलसँग घिसिङले अब सरकारी कार्यालयहरूमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गर्नु भयो । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित ३ ठाउँमा स्मार्ट चार्जिङ स्टेसन बनाउन लागेको भन्दै उहाँले स्वदेशको बिद्युत् खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिनु भयो ।