पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै सडक भाँसिदा सवारी साधन पनि मर्स्याङ्दी नदीमा खसेको पुष्टि भएको छ ।
नदी किनारबाट दुई जनाको शव निकालिएको छ । शवको पहिचान हुन नसकेको तनहुँ प्रहरीले जनाएको छ ।
मोटरसाइकल पहिरोमा पुरिएको अवस्थामा भेटिएको र कार नदीमा डुबेको देखिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र कार पहिरोमा परेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
आज बिहान ३ बजेतिर सडक भासिएको हो । नदीमा डुबिरहेको अवस्थामा कार देखिएपछि पोखरा र चितवनबाट गोताखोर टोली मगाएर खोजी गर्दा शव फेला परेको हो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीसहित गोताखोरहरु परिचालन गरिएको छ ।
सवारी साधन पास हुनै नसक्ने गरी सडक भासिएकाले पोखरा–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध भएको छ ।
सडक तत्काल खुल्न सक्ने अवस्था नदेखिएकाले सवारी साधनलाई जताबाट आएका हुन उतै फर्काइएको छ । भाँसिएको ठाउँमा बेलिब्रिज नबनाएसम्म सवारी साधन चल्ने सम्भावना देखिएको छैन ।
उता, तनहुँकै भानु नगरपालिकाको कुरकुना र रमाइलोडाँडामा पहिरो गएपछि डुम्रे बेंसीशहर सडक अवरुद्ध भएको छ । त्यहाँ पहिरो पन्छाएर सडक खुलाउने कोशिस भईरहेको प्रहरीले जनाएको छ । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले बगाउँदा बिहानदेखि मुग्लिङ् आँबु खैरेनी सडकमा दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।