आगामी आर्थिक वर्ष २०७९/८० को लागि सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ । आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर र ललितपुरको बजेट घटेको छ । ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् ।
सबैभन्दा धेरै बजेट पाएको पोखरा महानगरपालिकाले कुल २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ । पोखराले चालु आर्थिक वर्षमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बजेट पाएको थियो । पोखरालाई आगामी वर्ष समपूरक अनुदानमा ४ करोड विशेष अनुदानमा २ करोड ८० लाख रुपैयाँ दिइएको छ । १ अर्ब ८५ करोड ८० लाख सशर्त अनुदान पाएको पोखराले ६५ कारेड ८६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ ।
संघीय सरकारबाट काठमाडौं महानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ । चालु आर्थिक वर्षमा काठमाडौं २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बजेट पाएको थियो । आगामी वर्षका लागि काठमाडौंले समपूरक र विशेष अनुदानमा बजेट पाएको छैन । ७५ अर्ब ४९ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको काठमाडौंलाई १ अर्ब २८ करोड ५० लाख ससर्त रुपैयाँ अनुदान पठाइएको छ ।
सरकारले भरतपुर महानगरपालिकालाई आगामी वर्षका लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट दिएको छ । चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो । जुन अनुदान गत वर्षको तुलनामा १५ करोड ९६ लाख रुपैयाँ बढी हो । भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ । १ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ हात पारेको छ ।
कुन महानगरलाई कति बजेट ?
- पोखरा महानगरपालिका– २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ
- काठमाडौं महानगरपालिका– २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ
- भरतपुर महानगरपालिका– १ अर्ब ८० करोड २४ लाख रुपैयाँ
- वीरगञ्ज महानगरपालिका– १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ
- ललितपुर महानगरपालिका– १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ
- विराटनगर महानगरपालिका–१ अर्ब २१ करोड ८५ लाख रुपैयाँ