वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । ३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले ४६ हजार २१५ मत पाउँदा विजयले २३ हजार ६७१ मतमात्रै पाए ।
वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो ।
अघिल्लो पटक तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयरमा उठेका राजेशमान सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयले १९, ३९३ मत ल्याउँदा राजेशमान १२, १६५ मत ल्याएर तेस्रो भइका थिए ।
यसपटक दुवैले दल बदलेर चुनावी मैदानमा आएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर जसपामा पुगेका हुन् भने विजय जसपा त्यागेर एमालेबाट उम्मेदवार बनेका हुन् ।