गाउँमा चुनावी चहलपहल

गाउँमा चुनावी चहलपहल

  • Kanchan News

  • आइतवार, बैशाख १८, २०७९

  • 70
    SHARES
गाउँमा चुनावी चहलपहल

ठूलो स्पिकरबाट घरी कांग्रेसी बखानको त, घरी माओवादीका जागरणका गीत घन्केका छन्। कोही नाचिरहेका छन्। कोही जिन्दावादका नारा घन्काउँदैछन्। भर्खरै गहुँ काटेर ठुटैठुटा भएको खेतमा पनि हुलका हुल मान्छे हिँडिरहेका छन्। गाडी, मोटरसाइकल, स्कुटर, अटोरिक्सा र पैदल यात्राको जुलुसले सडक ठप्प छ। उम्मेदवारहरु घरघर पसेर भोट माग्दै प्रतिवद्धता जनाइरहेका छन्।

स्थानीय तह निर्वाचनमा आइतबार बिहान १० बजे बाँकेको खजुरा गाउँपालिका–२ सीगाउँमा देखिएको दृश्य हो, यो। जहाँ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त बाम–लोकतान्त्रिक गठबन्धनले घरदैलो गरिरहेको थियो। संविधानसभाका पूर्वउपाध्यक्ष सांसद तथा माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुवेदी गठबन्धनबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका डम्बरबहादुर विक ‘तुफान’, कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ल, वडा नम्बर २ का माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार धनराम ओलीसँगै घरदैलोमा थिइन्। उनले गठबन्धनलाई जिताउन आव्हान गरिन्।

‘यति धेरै जनसहभागितामा घरदैलो हुन्छ भनेर हामीले सोचेकै थिएनौं। जनताको अपार मायाले चुनावी माहोल बदलिएको छ’, खजुरा–२ मा वडाध्यक्षका उम्मेदवार वलीले प्रतिक्रिया दिए। खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन गरेको छ। गाउँपालिकाका ८ वडामध्ये ४ वडा स्तरमा मात्र दुई दलको गठबन्धन छ। वडा नम्बर १ र ३ मा कांग्रेसले वडाध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादीका उम्मेदवारले वडा अध्यक्ष पाएका छन। अन्य ४ वडामा भने दुबै दलको एकल प्रतिस्पर्धा छ।

खजुरामा ०७४ को स्थानीय तह निर्वाचनमा एमालेका किश्मतकुमार कक्षपति विजयी भएका थिए। निकटम् प्रतिद्वन्द्वी तुफान हारको बदला लिन फेरि अध्यक्षको उम्मेदवार बनेका छन्। उनले भने, ‘खजुरा भनेको राजनीतिक चेतना भएको ठाउँ हो। गठबन्धन बनेको छ। गठबन्धनमा कसैले पनि बेइमानी गर्दैन। हामी चुनाव जित्छौं।’

एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुनु र निर्वाचनमा सत्ताधारी दलको गठबन्धन बनेका कारण एमालेलाई विगतको जितको बिरासत जोगाउन हम्मेहम्मे छ। वडा नं. १ मा वडाध्यक्ष भएर लोकप्रियता कमाएका सुमन मल्ल गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन्। उनी आइतबार दिनभर वडा नं. ४ को डीगाउँ र इगाउँ, वडा नं. ८ को छगरीपुर र ठाकुरपुरको चुनावी अभियानमा थिए। मल्ल पनि चुनाव जित्ने दाबी गर्छन्। समृद्ध खजुरा बनाउन ११२ वटा प्रतिबद्धता सार्वजनिक गरेका मल्लले अन्नपूर्ण पोस्ट्सँग भने, ‘म आश्वासनभन्दा काममा विश्वास गर्छु। अभियानमा उत्साहजक सहभागिता छ। जित्नेमा ढुक्क छु।’ जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिकामा १८ हजार ७६ पुरुष, १९ हजार १८७ महिला र एक तेस्रो लिङ्गी गरी ३७ हजार २६४ मतदाता छन्।अन्नपूर्ण पोष्ट दैनिक बाट


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News