वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पहिलो दिन पोखराको मेयरका लागि १० जनाले उमेदवारी दर्ता गरेका छन् । दर्ता गराउनेमा ६ जना स्वतन्त्र उमेदवार छन् भने चार दलीय उमेदवार हुन् ।
स्वतन्त्र उमेदवारी दिनेमा लेखक गनेस पौडेल (खडकराज पौडेल) विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह गुरुङ छन् । कार्की काग्रेसका क्रियाशील सदस्य हुन् । मेयरमा उमेदवारी दर्ता गराएकामध्ये लेखक पौडेल ‘अटेरी अभियान’का संयोजक हुन् ।
सञ्जय तिमिल्सिनाले मौलिक जरोकिलो पार्टी, सचेत नेपाली पार्टीबाट भोजराज खनालले उमेदवारी दिएका हुन् ।
नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङले मेयरमा उमेदवार दर्ता गराएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुले जानकारी दिए ।
उनकाअनुसार उपमेयरमा दुईजनाको उमेदवारी परेको छ । सचेत नेपाली पार्टीबाट सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङले उमेदवारी दर्ता गराएका हुन् ।
यस्तै, ३५ जनाले वडाध्यक्ष र सदस्यमा उमेदवारी दर्ता गराएका छन् ।
आयोगले मेयर र उपमेयरमा उमेदवारी दिन १ हजार ५ सय रुपैयाँ, वडाध्यक्षका लागि १ हजार र सदस्यका लागि ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ ।