
नेकपा (एमाले)का प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने सम्भावना रहेका बताएका छन् । गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले आज बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकीमा सरकार फेरबदलको सम्भावना रहेकाले सांसद् रहेका व्यक्तिहरूलाई पोखरा महानगरपालिकाको उमेदवार नबनाउने बताए । पोखराको मेयरका लागि १२ जनाको नाम सिफारिस भएको छ ।
“गण्डकी सरकार अझै पनि फेरबदल हुन सक्ने सम्भावना छ । गण्डकीका प्रदेश सभा सदस्यलाई उमेदवारको रूपमा अघि सार्दैनौँ । प्रदेश सांसद रहेकालाई उमेदवार बनाउदा राजीनामा दिनुपर्ने भएकाले हाम्रो संख्या घट्छ । त्यसले उमेदवार बनाउन प्रदेशसभा खाली गराउन भएन नि,” उनले भने ।
उनले गण्डकीमा २७ सांसद रहेको र सत्तामा समर्थन गरको एउटा दलले समर्थन फिर्ता लिए आफ्नो दलको सरकार बन्ने सम्भावना रहेको बताए ।