माधव पराजुली
बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालीग्राम गरि ६ वटा साविकका गाउँ विकास समितिहरूलाई समेटेर बनाईएको विहादी गाउँपालिका ४४.८ वर्ग कि. मी. मा फैलिएको छ । यहाँको जनसंख्या १३,४०३ रहेको छ । ६ वटा वडाहरु रहेको विहादी गाँउपालिकाको केन्द्र वहाकीठाँटी हो । दुई दशक जनप्रतिनिधि विहिन हुदाँ अस्त व्यवस्त बनेको यहाँको विकास निर्माण तथा सामाजिक व्यवस्था संघिय संरचना अनुसार निर्वाचन भई जनप्रतिनिधि चुनिएपछि पुर्ण रुपमा बदलिएको छ । जनप्रतिनिधि सधैँ जनता प्रति उत्तरदायी र इमान्दार हुनेको हो भने परिर्वतनको दुरी धेरै टढा छैन भन्ने कुराको पुष्टी निर्वाचन पहिले र अहिँलेको अवस्थाले जनाउछ ।
२०७४ को स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बाट कमल प्रसाद भुसाल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आए । पाँच बर्षे कार्यकाल आफुले निर्वाचित गरेर पठाएका आफ्ना जनप्रतिनिधिले कस्ता विकासका काम गर्न सके त ? यो सबै जनचासोको बिषय पनि हो । विहादी गाउँपालिकाका अध्यक्ष भुसाल जिल्लामा शालिन, भद्र र ईमान्दार नेताका रुपमा चिनिन्छन् । उनी निर्वाचीत भएर गाउँपालिकामा आएपछि अन्य कुनै पनि नकरात्मक क्रियाकलापमा तथा उनको काम प्रति समग्रमा विहादी गाउँपालिकामा कसैले प्रश्न गर्न सक्दैन । उनी प्रचारमा भन्दा पनि आफ्नो कर्ममा विश्वास गरेर समग्रमा विहादीको विकासमा निस्वार्थ भावनाका साथ अहोरत्र खटिनैराखे । उनको पाँच बर्षे कार्यकालको समिक्षा गर्दा विहादीमा उनी प्रति गुनासो गर्ने खासै ठाउँ भने छैन् । उनले विपक्षीलाई पनि प्रश्न उठाउने कहीँ कतै पनि ठाउँनै नदिई पाँच बर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरि बिदा हुदैछन् । उनको कार्यकालमा एका दुई झमेला र विवाद भने नभएको होईन तर सबैलाई मिलाएर लैजान सक्नुनै असल नेतृत्वको गुण हो । उनको कार्यकालमा केही वडाको बृद्धभत्ता हराएको र गाउँपालिकाको केन्द्रको बिषयले भने निकै उग्र रुप लियो । गाउँपालिकाको केन्द्रको बिषयमा सर्वोच्च अदालत सम्म मुद्धा पर्यो जसले यीनलाई निकै समस्यामा पार्यो । मुद्धा फैसला पछि उनलाई राहत मिल्यो । बृद्धभत्ताको केस भने लिन गएका सम्बन्धित व्यक्तिहरुलेनै खातामा रकम जम्मागरेपछि सबै बिवाद मथर भयो । यी दुई विवादमा फसेका भुसाल त्यस मुद्धा बाट उन्मुक्ती पाए सँगै रात, साझ, परिवार र सप्ताहन्त नभनी विकास निर्माणमा खटिए । उनको पाँच बर्षे कार्यकालमा विहादी भौतिक विकासमा भने काचुलीनै फेर्यो ।
प्रदेश सरकार र नेपाल सरकार दुवै आफ्नै पार्टीको भएर पनि होला विहादीमा राष्ट्रिय गौरवको योजना देखि अन्य महत्वपूर्ण योजनाले सार्थकता पाउन सफल भए । पर्वतकै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र सोही क्षेत्र बाट निर्वाचित सांसद विकास लम्साल प्रदेशको मन्त्री हुनुले पनि उनीलाई ठुलो सौभाग्य मिल्यो । उनहीहरु सँगै संघिय सांसद पदम गिरीको पनि उनलाई साथ मिल्यो । विहादी बाट उनले सिफारिस वा माग गरेका योजनाहरुमा बजेट यथेष्ट बिनियोजन हुदाँ विहादी पूर्वाधार विकासका हरेक योजनाले गति लिए । पछिल्लो पाँच बार्षमा विहादीको पर्यटन,शिक्षा, स्वास्थ्य,सडक, सिंचाई कुलो, खेलमैदान, विद्युत, खानेपानी लगाएतका सबै क्षेत्रमा बजेट यथेष्ट विनियोजन भयो । औसत आर्थीक अवस्था रहेको यो गाउँपलिकाको आर्थीक जगलाई बलियो बनाउन पर्यटन,उद्योग, वाणिज्य,कृषि तथा पशुपालन लाई लिदै गाउँपालिकाले पनि कृषि,पशु, उर्जा, पर्यटन, शिक्षा स्वास्थ्य, समृद्ध विहादीको पहिचान भन्ने मुलनारालाई साकार पार्ने दिशा तर्फ उन्मुख भयो । सुशासन, समृद्धि र सेवाप्रवाहनै आफ्नो मुल उद्देश्य ठानी यहाँका नागरिकहरुलाई सेवा दिईरहेको गाउँपालिकाले दीर्घकालिन योजनालाई पनि उत्तिकै जोड दियो ।
सडकमा छलाङ
संघ, प्रदेश र स्थानिय गरि तिन तहको सरकारको सहकार्य तथा समन्वयमा यहाँ साना तथा ठुलो विकासका आयोजनहरुको काम धमाधम भईरहेको देख्न सकिन्छ । पक्कि सडकको मात्रा शुन्य अवस्थामा रहेको यस गाउँपालिकामा पछिल्लो समय १० कि.मि. सडक पक्कि भईसकेको छ भने ३० कि.मि. सडकमा कालोपत्रेको काम भईरहेको छ । स्याङजाको वलिङ हुदै पैयूँ हुवास बजार बाट १० किलोमिटरको दुरीमा रहेको विहादी गाउँपालिका पुग्ने सडक कालोपत्रे गरिएको छ । उक्त सडक खण्ड अन्तर्गत विहादीको वहाकीभञ्ज्याङ सम्म सकड पक्कि भएको छ ।
जिल्लाको सदरमुकाम कुश्मा बजार बाट ३५ कि.मि.को दुरीमा पर्ने उक्त गाँउपालिका छिचोल्दै गएको राष्ट्रिय गौरवको आयोजना बहुचर्चीत उत्तर(चिन) दक्षिण (भारत) जोड्ने कालिगण्डकी करिडोरमा समेत कालोपत्रेको काम भएको छ । उक्त खण्ड अन्तर्गत रानीपानी देखि फलेवास ढिक सम्मको सडक अहिँले कालोपत्रे भईरहेको छ । सेतीवेणी देखि–रानीपानी सडक खण्ड पनि कालोपत्रे भईरहेको छ ।
भारतलाई चीन सँग जोड्ने यो लोकमार्ग विहादी विकासको मेरुदण्ड रुपमा लिईएको छ । यसका साथै राष्ट्रिय गौरवको आयोजना पर्यटन सडकको रुपमा पोखरा—भदौरे—लुंखु हुदै सेतीवेणी सडकको कालोपत्र गर्ने कामको समेत थालनी भईसकेको छ । सडक सहजता तथा यहाँ उत्पादित वस्तुको निकासीमा सहजता पु¥याउन गाउँपालिकाले प्रत्यक वडाका वस्ती वस्तीमा सडक विस्तार गरेको छ । वहाकी भञ्ज्याङ हुदै खहरेखोला जाने सडकमा अहिँले कालोपत्रेको काम भईरहेको छ । यहाँका अन्य शाखा सडकहरुको डि.पि.आर. तयार गरिसकिएको छ । यहाँका रानीपानी पोखरीचौर देखी ईमीचौर सडक, वहाकी लिङसिङ देखी आपालय हुदै कालिगण्डकी लोकमार्ग पुग्ने सडक, सेतीवेणी–छचन्ने हुदै चर्काक सडक, खोरपोखरा–उरामपोखरा–गेप्ताङ हुदै महाशिला जोड्ने सडक, तल्लो बाच्छा देखि उपल्लो बाच्छा तथा देउराली जाने सडक, वहाकीभञ्ज्याङ–माझगाउँ हुदै सेतीवेणी जाने सडक लगाएत वस्ती वस्तीका सडक स्तरोन्नती गरिएको छ । अहिँले यहाँका वस्ती तथा घर घरमा सडक पुगेको छ ।
यस गाउँपालिका सिमानामा पर्ने डुड खोलामा बर्षातको समयमा गाडीहरुलाई खोला तर्न कठिन थियो । कतिका त मोटरसाईकल खोलाले बगाउथ्यो पनि । अहिँले उक्त ठाउँमा मोटरेवल पुल निर्माण गरि सञ्चालनमा आईसकेको छ । यो बाहेक पनि सेतीवेणीमा मोटरेवल पुल निर्माण भईसकेको छ भने बाच्छा खोलामा निर्माणको प्रक्रियामा छ । यसका अलवा रानीपानी—गुल्मीको मुल्का जोड्ने झोलुङगे पुल होस त् बराचौर—कोरेङ, घुमाउने घाट, बेलबगर, सेतीवेणी, बाच्छा लगाएतका स्थानमा निर्मित झोलुंगेपुलहरुले सडक तथा यातायातको व्यवस्था सुदृढ पारेको छ । यसका साथै सेतीवेणीमा स्टीलको बेलीब्रिज निर्माण समेत भएको छ । जसले प्रसिद्ध धार्मीक स्थल शिला शालिग्राम दर्शन गर्न आउनेको लागी यात्रामा निकै सहज बनाएको छ ।
वस्ती वस्तीमा सामुदायीक भवन, बाटोघाटोमा प्रतिक्षालय निर्माण
गाउँवस्तीमा सभा,बैठक तथा अन्य कुनै कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाका सबै वडाका वस्ती वस्तीमा सामुदायीक भवन निर्माण गरिएको छ । आमा समुह,क्लव तथा अन्य संघ संस्थाको कार्यक्रम गर्न ति सामुदायीक भवनले निकै सहज भएको छ । त्यस्तै विहादी गाउँपालिकाका मुख्य सडक तथा पदमार्गहरुमा यात्रुहरुलाई सहज बनाउन प्रतिक्षालय निर्माण गरिएको छ । यसले यात्रुलाई निकै सहजता प्रदान गरेको छ ।
कृषिमा यान्त्रिकीकरण,व्यवसायीकरण, सहकारी मार्फत रोजगारी
परम्रागत कृषि प्रणालिमा सुधार गर्दै कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण, आधुनिकीकरणलाई गाउँपालिकाले जोड दिन थालेपछि यहाँका मानिसहरु कृषि पेशा तर्फ आकर्षण हुन थालेका छन् । उत्पादन र उत्पादकत्व, वृद्धि गर्दै कृषकको दैनिक स्तर उकास्न तथा कृषि कर्मलाई सरल र सहज बनाउन गाउँपालिकाले टनेल, थ्रेसर, कुटानी पिसानी मिल, हाते ट्याक्टर, लगाएतका यन्त्रहरु वितरण गर्नुका साथै कृषि अनुदान समेत उपलब्ध गराउदै आएको छ । व्यवसायीक खेती तर्फ उत्तप्रेरण जगाउन पालिकाले कृषि प्रविधि,कृषि बिमा तथा तालिम सञ्चालन गर्नुका साथै नागरिकलाई स्वरोजगार बनाउन विभन्न सिप मुलक तालिम समेत प्रदान गरिरहेको छ ।
एक वडामा एक नर्सरी, एक घर एक टनेल, एक घर एक मौरी तथा सुन्तला, कागती, आँप, अनार उत्पादन क्षेत्र विस्तार लागएतका कृषि कर्यक्रमहरु लोकप्रिय छन् । प्रदेश सरकारले पनि रानिपानी कुमाल गाउँलाई मुख्यमन्त्री कृषि नमुनाका गाउँको रुपमा विकास गरेको छ । किसानलाई व्यवसायीक रुपान्तरित गर्न पशुपालन, मौरीपालन, माछापालन, मासु उत्पादन, दुग्ध तथा पोल्ट्री जन्य वस्तू उत्पादन, वडा स्तरमा चिस्यान केन्द्र स्थापना तथा मिल्क क्यानको व्यवस्था, घाँसको नर्सरी स्थापना गरी कृषकलाई वितरण, गरिब विपन्नहरु लाई व्यवसायीक बनाउन सुंगुर,बाख्रा,कुखुरा वितरण जस्ता कार्यक्रम महत्वदिनुले गाउँपालिका साच्चिकै किसानको सारथी बनेको छ । सहकारी मार्फत रोजगारी तथा कृषि सम्बन्धि लोकप्रिय कार्यक्रम सञ्चालन भएपछि हिजो आज यहाँका नागरिकको आर्थीक अवस्था मजबुत बन्दै गएको छ भने कृषि उत्पादन समेत वृद्धि हुदै गएको छ । गाउँपालिकाले सुन्तला,धान,मकै जस्ता पकेट क्षेत्रको रुपमा विस्तार गर्दै त्यस्ता उद्यममा संलगनहरुलाई गाउँपालिकाले सहयोग गर्दै आएको छ ।
कृषकको खातामा गाउँपालिकाको पैसा, कृषि एम्बुलेन्स सञ्चालन
विहादी गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने निति अगाडी सारेको छ । कृषि उपज विक्री वितरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने गरी आर्थीक बर्ष २०७८ ÷ ०८ ९ को बजेट बक्तव्यमा रकम समावेश गरिएको छ । कृषकले उत्पादन गरेका तरकारी खेर जान नदिन तथा कृषकलाई कृषि उपज वजारीकरणमा सहजता ल्याउन गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो ।
त्यस्तै गाउँपालिकाले कृषक बचतकोष समेत सञ्चालनमा ल्याएको छ । कृषकहरुलाई प्रोत्साहन तथा कृषि व्यवसायलाई व्यवस्थित बनाउन कृषक बचतकोष सञ्चालन गरिएको हो । अहिँले ६ ओटै वडामा करिब दुई हाजार कृषको बैंक खाता खोली रकम जम्मा गरिकिएको छ । जीवनमुखी खेतीबाट उत्पादनतर्फ लैजान र कृषकको बचत गर्ने बानीको विकास गर्न गाउँपालिकाले उक्त कार्यक्रम बढाईएको हो । एक घर एक कृषक , एक कृषक १ बचत खाता सञ्चालन गर्ने गाउँपालिकाको योजना हो । कृषकले आफ्नो बैंक खाता खोली मासिक ५ सय रुपैयाँ बैंकमा जम्मा गर्नुपर्नेछ र गाउँपालिकाले मासिक रुपमा कृषकको खातामा २ सय ५० रुपैयाँ जम्मा गरिदिने गरि कृषक बचतकोष कार्यविधि बनाईएको छ । त्यसरी बंकमा जम्मा भएको रकम कृषकले ५ बर्ष पछि मात्र आफ्नो इच्छाअनुसार खर्च गर्न पाउने छ ।
गाउँपालिकाले व्यवसायीक रुपमा रागो पालन गर्ने किसानलाई बार्षीक १० हजार रकम अनुदान दिने भएको छ । १ ओटा रागो बराबर १० हजारका दरले रकम उपलब्ध गराउदै आएको छ भने गाउँपालिकाले उन्नत जातको गाई तथा भैंसी पाल्ने किसानलाई प्रति एक गाई ÷ भैंसी २० हजारका दरले अनुदान दिदै आएको छ । त्यस्तै गाउँपालिकाले किसानलाई प्रोत्सहान गर्न किसानले उत्पादन गरेको प्रति लिटर दुधको ३ रुपैयाँ का दरले रकम समेत प्रदान गर्ने भएको छ । यहाँका किसानले १ लिटर दुध बराबरको बजार मुल्य भन्दा तिन रुपैयाँ बढी दुधको मुल्य पाउनेछन् । गाउँपालिकाले कृषिलाई समृद्धिको बलियो आधार मान्दै कृषि क्षेत्रको आधुनिकिरिण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षाको प्रत्याभनी गरिने योजना अगाडी सारेको छ ।
शिक्षा क्षेत्रमा प्रत्येक विद्यालयमा आर.सि.सि. भवन
पछिल्लो तथ्याङ अनुसार ७२.८५ प्रतिशत साक्षर रहेको यस गाउँपालिकामा ३० सरकारी विद्यालय र ३ बोर्डीङ गरी ३३ वटा विद्यालय मध्ये ९ वटा मा.वी., ७ वटा आधारभुत विद्यालय र १७ वटा प्रा.वि. रहेका छन् भने एक वटा सामुदायीक क्याम्पस रहेको छ । यी विद्यालयहरुमा कम्यूटर शिक्षालाई अनिवार्य बाउनुका साथै आई.सि.टि., साईन्स ल्याव कक्षा सञ्चालन गरिएको छ भने पठन संस्कृतिको विकास गर्न आधुनिक पुस्तकालयको स्थापना गरिएको छ । समावेशी तथा समतामुलक गुणस्तरिय शिक्षा सुनिश्चित गर्ने, निरन्तर सिकाई तथा शिक्षण पद्धति, बालबालिकालई विद्यालय पहुँचको सुनिश्चितताका साथै स्मार्ट कक्षाको निति लिनु ले गाउँपालिका विद्यार्थीहरुको भविष्य तथा दक्ष जनशक्ति उत्पादनमा गम्भिर बनेको देखिन्छ । सबै विद्यालयमा ईन्टेरनेटको माध्यम बाट पठनपाठन गर्नुले पनि गुणस्तरिय शिक्षामा जोडदिएको प्रतिक हुन्छ । विद्यार्थीलाई सौहाद्रपुर्ण वातावरणमा पठनपाठन गराउन शिक्षण संस्थाहरुको भौतिक संरचनाको अवस्था पनि उत्कृष्ट छ । यहाँका प्रत्येक विद्यालयमा नयाँ आर. सि. सि. भवन निर्माण भएका छन् भने केही शिक्षण संस्थाहरुमा भवन निर्माणाधिन छ । यहाँ केहीँ विद्यालयलाई नमुना बनाउने गरी योजना समेत आगाडी बढाइएको छ । नेपाल तारा मा.वि.मा प्राविधिक शिक्षालय लाई व्यवस्थित गर्न तथा स्नातक तहको पठनपाठन सञ्चालन गर्न आवश्यक पहल थालिसकिएको छ । यो बाहेक पनि शिक्षामा निम्न कामहरु भएका छन् ।
1. वाल कक्षा क्रमशः मा.वि.सम्म आवस्यकता अनुसार नेपाली÷अंग्रेजी दुवै माध्यमबाट अध्यापनको व्यवस्था,
2. विहादीगाउँपालिकाले शुरु गरेको दिवा खाजा कार्यक्रम नेपाल सरकारले ससर्त अनुदान मार्फत कक्षा १ देखी ५ सम्म यो कार्यक्रम लागु गरेको छ,
3. विद्यालय शिक्षाको पहुँचबाट वञ्चित गराइएका वालवालिकाका अभिभावक तथा परिवारहरुलाई वडा तथा गाउँपालिकाबाट प्रदान गरीने सेवा सुविधामा आंशिक वा पूर्ण रुपमा वन्देज लगाउन सक्ने नीति ।
4. यस गाउँपालिका भित्र व्यवसायिक प्राविधिक शिक्षाको शुरुआत गरिएको छ ।
5. एक शिक्षक एक ल्यापटपको र एक कक्षा एक प्रोजेक्टरको नीति अवलम्बन गरिएको छ ।
१५ शैयाको अस्पताल बन्दै
गाउँको सबै भन्दा मुख्य समस्याको जड स्वास्थ्यमा हो । बिशेषज्ञ स्वास्थ्य सेवा लिन बिरामी भए घण्टौँ लागेर वालिङ्, पोखरा, बुटवल जानुपर्ने बाध्यता छ । सामान्य आधारभुत तहको उपचार त यहाँ नागरिकले प्रत्येक वडाका स्वस्थ्यचौकी तथा क्लिनक बाट गराएकै छन् । तर जटिल प्रकृतिको उपचारमा समस्या रहेको यहाँ अब भने त्यो समस्याको पनि अन्त्य हुदैछ ।
प्रत्येक स्थानिय तहमा ५ देखि २५ शैयाको अस्पताल बनाउने नेपाल सरकारको लक्ष्य अनुरुप यहाँ पनि विशेषज्ञ सेवा सहितको २५ शैयाको अस्पताल निर्माणको काम धमाधम भईरहेको छ । यसका अलवा प्रत्येक वडामा स्वास्थ्यचौकी र ३ वटा सामुदायीक स्वास्थ्य ईकाई तथा नागरिकले सेवा पाईरहेका छन् । तत्कालको लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवामा चुनौती देखिएता पनि स्वास्थ्य संस्थाको भौतिक संरचनाको अवस्था भने अब्बल छ । नागरिकलाई सहज बनाउन भौगोलिक स्वास्थ्य चौकी भन्दा टढा रहेका स्थानमा स्वास्थ्य ईकाई तथा बर्थीङ सेन्टर स्थापना गरिएको छ । दश सैयाको कोरोना अस्पताल पनि यहाँ स्थापना गरिएको छ ।
औद्योगिक ग्राम निर्माण
यो गाउँपालिका यातायात सहजताको अलवा औद्योगिक क्षेत्रको कामलाई पनि तिब्र रुपमा अगाडी बढाईएको छ । संघ र प्रदेश सरकारको एक स्थानिय तहमा एक उद्योग ग्राम निति अनुरुप यहाँ पनि उद्योग ग्रामको निर्माणको काम तिब्र रुपमा भएको छ । स्थानिय उत्पादनमा आधारित उद्योगहरु साना, मझौला र ठुलो उद्योगहरु उद्योग ग्राममा सञ्चालन भए पश्चात रोजगारी सिर्जाना, उत्पादन र उत्पादकत्वका साथै गाउँपालिका आत्मनिर्भरको मार्गमा उन्मुख हुने देखिन्छ । यसका साथै गाउँपालिकाको बर्राचौर र बाच्छामा रहेको विशाल ढुंगाखानी क्षेत्र, कालीगण्डकीमा रहेको बालुवा र यहाँको चुन ढुंगालाई प्रशोधन तथा अन्य निर्माणसामग्री उत्पादनको लागि यो उद्योग ग्राम उपयुक्त हुने देखिन्छ ।कागिण्डकी करिडोर सँग जोडिएको यो उद्योग ग्राम औद्योगिक सहर बुटवल सँग सिधासम्पर्क भएकाले पनि यहाँ उत्पादिन वस्तुको निकासीमा समेत सहजता पुग्छ ।
गाउँपालिकाको प्रशासनिक भवन र सबै वडा कार्यालयका भवन निर्माण
स्थापनाको बर्ष देखि भाडाको घर बाट सेवा दिईरहेको गाउँपालिकामा अहिँले भने प्रशासनिक भवन निर्माण भई नयाँ भवन बाट सेवा दिन थालिएको छ । पाँच बर्षे कार्यकालमा कति स्थानिय तहले आफ्नो गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न सके यो प्रश्न उठिरहेकै छ तर विहादी गाउँपालिकाले भने गाउँको सिंह दरबार तयार पारेको छ । अहिँले नयाँ भवन बाट सेवा दिएको गाउँकार्यपवालिकाले साच्चीकै स्थानियलाई गाउँमा सिहं दरबार आएको महसुस गराएको छ । अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको काम र बहुउद्देश्य सभाहल निर्माण भएको छ । वडा बाट सञ्चालन हुने दैनिक सेवाहरुलाई चुस्त दुरुस्त बनाउन रानीपानी,बर्राचौर,शालिग्राम, उरामपोखरामा वडा कार्यालयको नायँ भवन निर्माण भएको छ भने बाच्छा र वहाकीठाटीमा भवन निर्माणाधिन छ ।
पर्यटन बाट गाउँपालिकाको समृद्धि खोज्दै
विहादी गाउँपालिका पर्वत जिल्लाको दक्षिण भेगमा अवस्थित एक अत्यान्तै सुन्दर गाउँपालिका हो । विहादी बहुभाषिक,प्राकृतिक सौन्दर्यता तथा ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक विविधताले सम्पन्नशाली गाउँपालिका हो । रमणीय र पर्यटकीय स्थल, थरिथरिको समाज अनि एकता, फरक भूगोल, धार्मिक विविधता विहादी गाउँपालिकाको अपरिभाष्य विशेषता हो । उत्तर तर्फ देखिने माछापुच्छ«े र धौवलागिरी हिमाल,दक्षिण तर्फ देखिने मन्द गतिमा बग्ने कालिगण्डकी नदी तथा कालिगण्डकी जलविधुत आयोजनाका क्रममा बनेको ताल, लट्टरम कृषि उत्पादन गरिरहेका फाँट,प्राकृतिक मनमोहक छटा,मननै लोभ्याउने प्राकृतिक डाँडा,खोला नाला,गुफा र झर्नाहरुले यस गाउँपालिकाको शोभा बढाईरहेका छन् । यस ठाँउको ब्राह्मण,मगर,कुमाल संस्कृति तथा सालैजो,झ्याउरे,रत्यौली,भजन जस्ता संस्कृति असाध्यै मनमोहक छ । यस ठाउँका मौलिकता बोकेका अकर्षक बस्तीहरुले सामाजिक एकता, सदुभाव र सहिषुणताको सन्देश प्रवाह गरिरहेका छन् । बाईसे चौबिसे राजाहरुको पालामा अधिन स्थल मानिने यो गाउँपाकिलका धार्मिक, प्राकृतिक तथा पुरातात्वि सम्पदाको खुल्ला संग्रालय जस्तै हो ।
नेपाल सरकार र प्रदेश सरकारले घोषणा गरेको एक सय गन्तव्य भित्र पर्ने विश्वकै ठुलो शालिग्राम शिला यस गाउँपालिकाको मुख्य पर्यटकिय स्थल हो । नेपाली भक्तजनहरुको आस्थाको धरोहर मानिने शालिग्राम दर्शन गर्न बर्षमा लाखौँ मानिसहरु यहाँ आउने गरेका छन् । बैशाख र माघे संक्रान्ती तथा ठुली एकादशीमा बिशेष मेला लाग्ने यस ठाउँमा बाह्य तथा आन्तरिक पर्यटकको घुईचोनै लाग्ने गर्दछ । कालिगण्डकी करिडोर सँग जोडिएको यस स्थानमा कालिगण्डकी जलविद्युतका क्रममा बनेको तालमा सञ्चालित स्टीम्वरहरु चढेर अलौकिक आनन्द लिन पाईने हुदाँ यहाँका पर्यटकहरु आईरहने गर्दछन् । यो सँगै यस गाउँपालिकाम रहेको सबैभन्दा उचाइमा पर्ने गोल्र्याङधाम,बच्छेश्वर मन्दिर, बच्छेश्वरकोट, शिवपुरी धाम, छापाकोट मन्दिर, बाईसे चौबिसे राज्यताकाको ऐतिहासिक लुरिङ्गकोट , शितल गुफा, रानिपानि दरवार गुफा, रम्भा देवि मन्दिर,खड्ग देवी मन्दिर, गौरा देवीथान देउराली डाँडा लगाएतका स्थानहरु महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा चिनिन्छन् । यी स्थानमा पर्यटन पूर्वाधार निर्माणको काम कतै सम्पन्न भईसकेको छ भने कतै हुदैछ ।
पर्यटकीय आकर्षणका प्याराग्लाईडिङ्ग,होमस्टे र पदमार्ग निर्माण
यहाँका बच्छेश्वर, सालडाँडा, छाप र गेप्ताङमा रहेका सामुदायिक होमस्टेहरु अतिथिको स्वागत सत्कारको लागि आतुर छन् । यहाँका होमस्टेमा पाईने अर्गानिक खानाका साथै पृथक संस्कृति लोभ लाग्दो छ । यी होमस्टेहरु गण्डकी प्रदेश सरकारको अनुदान र गाउँपालिकाकाको प्रर्वद्धनमा स्थापना भएका हुन् ।
गाईथुने हदै बच्छेश्वर पदमार्ग, कालिगण्डकी—आपालय—रम्भादेवी हुदै लामाचौर पदमार्ग तथा सेतीवेणी—सिमल भञ्ज्याङ—छापाकोट जाने पदमार्ग निर्माण भएको छ । यसले ग्रामिण पर्यटनलाई जोडेको छ । यहाँका लामा तथा छोटा पदमार्गहरुले विहादी गाउँपालिकालाई हाईकिङ हवको रुपमा परिचित बनाउन थालेको छ । कालिगण्डकीमा ¥याफ्टिङ समेत सञ्चालन हुदै आएको यस गाउँपालिकाको लामाचौर बाट प्याराग्लाईडिङको सफल परिक्षण पश्चात प्याराग्लाईडिङ नियमित उडानका लागि भौतिक पूर्वाधारको काम सम्पन्न भएको छ । प्रदेश सरकारको उक्त स्थानमा पूर्वाधार निर्माण गर्न २० लाख रकम बिनियोजन गरेको थियो । अब बाकीँ नियमित उडानको लागि संबन्धित कम्पनीहरु सँग छलफल भईरहेको छ ।
खानेपानीमा कायपलट
विहादी गाउँपालिकाका एका दुई स्थानमा बाहेक अन्य स्थानमा खानेपानीको चरम समस्या थियो । उक्त समस्याको समाधन गर्न एक घर एक धाराको निति अगाडी सार्यो । सबै घरमा स्व्चछ खानेपानी पुर्याउने उद्देश्य अनुसार गाउँपालिकाले संघ र प्रदेश सरकारको लगानी तथा सहलगानीमा खानेपानीको विस्तारलाई समेत अगाडी बढाएको छ । उरामपोखरामा र बाच्छामा खानेपानी सबै घरमा पुगेको छ भने रानीपनीको साविक वडा नं. ३ र २ अनि बर्राचौरका ४ ओटा वडाहरुमा लिसे गैह्रा खानेपानी आयोजनाले कभर गरेको छ ।
यहाँ रुम्टा, अरेवा, शालिग्राम जस्ता बृहत लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा छ । उत्त योजवनाको ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ । उक्त खानेपानी आयोजना यहीँ आर्थीक बर्ष भित्र बाटनै सञ्चालनमा आउनेछ । खानेपानीको समस्या भोगेका शालिग्राम, रानीपानी तल्लो भेगका नागरिकहरुले अब भने खानेपानीको समस्या बाट मुक्ती पाएका छन् । साथै वहाकी र बराचौर खानेपानी आयोजना निर्माणधिन छन् भने साना खानेपानी आयोजनाको काम सकिएको छ । यी ठुलो खानेपानी आयोजना अब केही दिनमै सम्पन्न भई आफ्नो घरमै स्वचछ खानेपानी पिउन पाए पछि यहाँका नागरिकहरुमा खुसीको सिमा नै हुनेछैन ।
४ ठुला खेलमैदान निर्माण
गाउँपालिकाले खेलकुदको विकासलाईप पनि उत्तिकै महत्व दिएको छ । दक्षिण पर्वतको उत्कृष्ट खेलमैदान मानिने ईमिचौरमा मिनि रंगशाला बनाउन प्रदेश सरकारको सहकार्यमा काम अगाडी बढेको छ भने बाच्छा, माझगाउँ, आपालय लगाएतका स्थानमा खेलमैदान निर्माण गरिएको छ । खेलमैदान निर्माण भएसँगै खेलप्रेमीहरु दक्ष खेलाडी उत्पादन समेत हुन थालेको छ ।
पार्कले गाउँपालिकाको शोभा
विहादी गाउँपालिकामा निर्माण भएका पिस पार्कहरुले गाउँपालिकाको शोभा बढाउनुका साथै प्रकृतिमा रमाउने र शान्त एवं आध्यात्मिक वातावरण खोज्ने सबैको रोजाइ बनेको छ । विहादी गाउँपालिका वडा नं. ३ रानीपानी पोखरीचौरमा पिस पार्क निर्माण गरिएको छ ।
हाईड्रो तथा सहज सिञ्चाईको लागि नहर,कुलो निर्माण
वडा नं. १ देखि वडा नं. ६ सम्म बग्ने कालिगण्डकी नदि सहित बाच्छा खोला, सेती खोला, सिउदी खोला यहाँका नदि हुन । यी नदि तथा खोलाहरुले यहाँको खेतीयोग्य जमिनलाई सिञ्चित गरेको छ भने सेतीखोलामा ३ मेगावट जलविद्युत परियोजनाको काम भएको छ । कालिगण्डकी बि जलविद्युत आयाजनाको अध्ययन अनुसन्धानको काम समेत भईरहेको छ । यसका साथै बाह्रैमास सिञ्चाईको व्यवस्था गर्न सिञ्चाई नहर तथा कुलो निर्माणको काम समेत भएको देख्न सकिन्छ । बाच्छा नहर, गुहेखोला कुडादी कुलो, असीमुरे कुलो, उरामपोखरा, छचन्ने सिंचाई नहर, लामगरा,खहरेखोला, ढकाले कुलो,सिउदीखोला नहर, शालिग्राम कुलो, खन्तरे–भाटीचौर कुलो, जलकुनी–बिरुवारी कुलो लगाएतका सयौँ साना दतथा ठुला कुलो तथा नहर निर्माण गरिएको छ ।
विद्युतीय काठे पोल विस्थापन
विहादी गाउँपालिकामा प्रयाजसो सबै वडामा काठेपोल थिए । काठका पोलले विद्युत प्रवाहमा निकै समस्या हुन्थ्यो । काठका पोललाई हावाहुरीले ढाल्दा विद्युत सप्लाईमा समस्या हुदा स्थानिय अन्धकारमा बस्न बाध्य थिए । अहिँलेभने गाउँपालिका भित्र सबै काठका पोल विस्थापित गरी फलामे पोल रखिएको छ । विद्युत प्रवाह निर्वाध रुपमामा भएको छ ।
न्यायिक समिति प्रति स्थानियको विश्वास उत्तिकै
न्यायिक समितिले स्थानिय रुपमा सिर्जनाहुने झै भगडा तथा आफ्नो अधिकार भित्रको मुद्दामामिला निरुपण गर्न थालेपछि नागरिकलाई घरदैलोको सरकारको अनुभुत हुन थालेको छ । गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्य न्यायिक समिति गठन गरि स्थानिय स्तरमा हुने विवाद समाधान गर्न न्यायकि समिति सदैव तत्पर रह्यो सके सम्म स्थानिय स्तरमै धेरै मुद्धाहरु मिलाउन सफल भयो । त्यसले पनि न्यायिक समिति प्रति स्थानियको विश्वास बढ्यो । यसका साथै सबै जातजाती, समुदायलाई समानान्तर हिसाबले अवसर र पहुँच विस्तार हुदाँ पछाडी परेका समुदाय तथा महिलाहरुको जागरण र शसक्तिकरण बढेको पाईन्छ ।
प्रहरी चौकी स्थापना तथा भवन निर्माण
नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाउने प्रहरी चौकीको भवन नहुदाँ प्रहरीहरुले निकै दुख कष्ट व्योहोर्नुपर्ने अवस्था थियो । जसले चुस्तदुरुस्त सुरक्षा प्रवाहमा समस्या पैदा हुन्थ्यो । अहिँले भने रानीपानी प्रहरी चौकीको भवन निर्माण गरिएको छ । त्यस्तै गाउँपालिका केन्द्रमा एक प्रहरी चौकी पनि स्थापना गरिएको छ । विहादी गाउँपालिकामा बाच्छा,शालिग्राम,रानीपानी र लिङसिङ वहाकीमा प्रहरी चौकी छ ।
नोटः यो लेख तथा समाचार अनुमति बिना तथा स्रोत नखुलाई कुनै पनि मिडियामा प्रकाशन गरेको पाईएमा कानुन अनुसार कार्बाही गरिने ब्योहोरा जानकारी गराईन्छ ।