निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ।
बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ। पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई वटा उडान सञ्चालन गरिनेछ। उक्त गन्तव्यको उडान एक घण्टा ३० मिनेटको हुन्छ। कम्पनीले यसअघि भारतको वनारस र कोलकात्तामा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोगमा ल्याएका एटिआर ७२ जहाजमार्फत नै दिल्ली गन्तव्यमा उडान गर्ने जनाएको छ।
बुद्ध एयर आन्तरिक उडानमा सबैभन्दा बढी एटिआर जहाज भएको कम्पनी पनि हो। नजिकका गन्तव्यमा तिनै जहाजले अन्तर्राष्ट्रिय उडान भर्ने गरेको छ। पर्यटकीय गन्तव्य पोखराबाट दिल्ली उडान गर्दा भारतीय पर्यटक बढोत्तरी हुने विश्वास लिइएको छ। पर्यटकीय गन्तव्यमा सिधै पुग्न सकिने भएकाले यो गन्तव्य व्यावसायिक हिसाबले पनि निकै सम्भावनायुक्त गन्तव्य हुने व्यवसायीको बुझाइ छ
वनारसमा मे पहिलो सातादेखि उडान
बुद्ध एयरले काठमाडौँ–वनारस गन्तव्यमा पुनः सिधा उडान गर्ने तयारी गरेको छ। वनारस उडानको प्रक्रिया पूरा भइसक्यो कम्पनीले जनाएको छ। भारतको चर्चित तीर्थस्थल वनारस पनि सम्भावना भएको गन्तव्य मानिन्छ।