
पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी रास्कोटमा रहेको खड्ग देवी मन्दिरलाई करिब एक लाख रकम आर्थीक सहयोग गरिएको छ । रानीपानी निवासी समाजसेवी चुडामणी पैडेलले उक्त मन्दिर लाई ९७ हजार रकम आर्थीक सहयोग गर्नुभएको हो । ऐतिहासिक धार्मीक महत्वको उक्त मन्दिरको केही समय अगाडी मात्र पुनःनिर्माण सकिएको थियो । मन्दिर पुनः निर्माण गर्दा करिब एक लाख रकम ऋण मन्दिर व्यवस्थापन समितिको टाउकोमा थियो । समाजसेवी चुडामणी पौडेलले उक्त रकम दिए पछि मन्दिरको सम्पूर्ण ऋण अब भने चुक्ता भएको छ ।
आर्थीक रकम सहयोग गर्दै समाजसेवी पौडेलले आफुहरुको धार्मीक आस्थाको धरोहर उक्त मन्दिर व्यवस्थापन गर्न आफुले कुनै पनि कसुर बाकीँ नराख्ने प्रतिबद्धता जनाउनुभयो । मन्दिर पुनः निर्माण गर्दा समस्या भएको आफुले थाहा पाएपछि अमेरिकामा रहेका आफ्ना छोरा लक्ष्मी प्रसाद पौडेल र पदमराज पौडेललाई जानकारी गराएपछि छोराहरुको सल्लाह बमोजिम आफुले मन्दिरमै आएर आर्थीक रकम सहयोग गरेको उहाँले बताउनुभयो । आफ्नो बुबाले निकै कठिनका साथ खडग देवी मन्दिर निर्माण गरेको स्मरण गर्दै पौडेलले मन्दिर पुनः निर्माण भएकोमा खुसी प्रकट गर्नुभयो । मन्दिर सबैको धार्मीक आस्थाको धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापनमा सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । पौडेलले यस अघि पनि रानीपानीका विभिन्न संघ संस्था तथा सामाजिक कार्यको लागि आर्थीक सहयोग गर्दै आउनुभएको छ ।
उक्त मन्दिरमा साविक रानीपानी,बराचौर,वहाकी गाविसका स्थानिय भक्तजनहरले बडादशै र चैते दशैमा श्रद्धाका साथ पुजा गर्ने गर्दछन् । साथै आफ्ना भाकल पुरा गर्नको लागी परम्परा अनुसार वली दिने पञ्चवली दिने एवम् दुर्गा पुजा गर्ने गर्दछन । किम्वदन्ती अनुसार आज भन्दा सदियौँ पहिला स्थानिय गोठालाले आफ्ना गोरुहरु चराउन क्रममा खडग देखेका र उक्त खड्ग निकाल्न सकेन्छन् । तुरुन्तै खड्ग निकाल्ने हेतुले घर बाट वञ्चरो लिई आउदा उक्त खड्ग लोप हुन पुगेछ । त्यहीँ बाट विधीपूर्वक पुजागरी खड्गको वरीपरी माटोको ढिस्को वनाई खड्ग देवीको पुजा गर्न थालिएको हो । त्यसपछी स्थानिय डण्डापाणी पौडेलको नेतृत्वमा स्थानियहरु श्रमदान गरी आफ्नो गच्छे अनुसार माना चामल उठाई माटोको कच्चि मन्दिर ढुङ्गाले छाएर धेरै लामो समय सम्म पुजा अर्चना गर्न थालिएको थियो । त्यसको धेरै समय पछी स्थानिएकै सक्रियतामा पक्कि संरचना बनाई पुजा आजा गरिदै आएको थियो । उक्त मन्दिर जिर्ण हुदै गएपछि पुनः निर्माणको काम थालिएको थियो । पुनः निर्माण पश्चात मन्दिरको स्वरुप पनि फेरिएको छ । अहिँले भने उक्त मन्दिर निकै व्यवस्थित बनाइएको छ ।खडगदेवी मन्दिर पदस्थापना गर्न स्व. डण्डापाणी पौडेलले जग्गा मन्दिरालई दान दिएका थिए ।
अर्को किम्वदन्ती अनुसार उक्त मन्दिरको महत्व भने वाईसे र चौविसे राजाको पालमा यस ठाँउमा लुरीङकोटका राजा चैत्र सिंहका भाई भाद्र सिंहका सेना र पैँयूकोटका राजाका सेना विच घोर रणसगं्राम भई पैयूँकोटका राजाको सेनाले भाद्र सिंहलाई हत्या गरेकाले यो स्थान रणकोट रणकोट भन्दा भन्दै रास्कोट रहन गएको पाईन्छ ।
रानिपानीको शिरमा पर्ने १३ सय मिटर उच्चाईमा रहेको उक्त मन्दिर धार्मीक एवम् पर्यटकिय दृष्टिकोणले अत्यान्तै सुन्दर छ । उक्त स्थानबाट बिहादी गाँउपालिकाको करिब ७० प्रतिशत भु भाग देख्न सकिन्छ भने गुल्मी र बाग्लुङका बिभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ बाट हिमशृंखलाहरु समेत देख्न पाईन्छ ।