लालपुर्जाको समस्यामा गुर्जावासी

लालपुर्जाको समस्यामा गुर्जावासी

  • Kanchan News

  • आइतवार, चैत्र २०, २०७८

  • 115
    SHARES
लालपुर्जाको समस्यामा गुर्जावासी

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ६० वर्षीय कमरा विकका दाजुभाइले १० वर्षअघि निधन भएका बुबाको नामबाट घरजग्गा नामसारी गर्न सकेका छैनन्। ७३ वर्षीय चन्द्रमान विकका चार दाजुभाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिंङको नाममा छ। हकभोग गर्दै आएको घरजग्गाको लालपुर्जा नभएका चन्द्रमान र कमराका दाजुभाइ २६० घरधुरी भएको गुर्जा क्षेत्रका प्रतिनिधि पात्र हुन्।

‘नापी ल्याएर जग्गा छुट्याउन र सदरमुकाम बेनी पुगेर पास गरेर फर्कन कम्तीमा ५० हजार रुपैयाँ खर्च लाग्छ,’ कमरा भन्छन्, ‘सबै भाइ जुटेर सँगै बेनी जान खर्चको समस्या भएकाले लालपुर्जा बनाउन पाएका छैनौं।’ आवादी गरेको जग्गा नापी कार्यालयले वस्तीयोग्य रूपमा दर्ता गरे पनि व्यक्तिको नाममा लालपुर्जा नदिँदा भूमिहीन भएका छन्।

लालपुर्जा नहुँदा अंशबन्डा र खरिद–बिक्रीमा समस्या छ। भौगोलिक विकटताका कारण सदरमुकामको मालपोत र नापी कार्यालय जान आउन लाग्ने खर्च जुटाउन नसक्ने, प्रक्रिया पूरा गर्न झञ्जट हुने भएकाले लालपुर्जाविहीन बन्नुपरेको चन्द्रमानको गुनासो छ। ‘जग्गा आफ्नो नाममा नहुँदा अप्ठ्यारो पर्दा बैंक तथा सहकारीमा धितो राखेर गर्जो टार्न पाएका छैनौं,’ उनले भने ‘कानुनी हिसाबले नाप नक्सा, बिक्री वितरण र घर कायम गर्न सकेका छैनौं।’

देउराली बस्तीका ३५ परिवारको घरको समेत लालपुर्जा छैन। व्यवहारमा अंशबन्डा र घरजग्गा खरिद बिक्री भए पनि कागजमा नहुँदा विवाद हुन थालेको झगु बिकले बताए। ‘ससुरा, जेठा जेठाजु, जेठानी बितेको १० वर्ष भए पनि नामसारी र अंशबन्डा भएको छैन,’ उनले भने ‘हामीले किनेर घर बनाएको जग्गाको पनि नामसारी गर्न सकेका छैनौं।’ घरजग्गा धितो राखेर बैंक, सहकारी, वित्तीय संस्थाबाट ऋण लिने सुबिधाबाट बञ्चित हुनुका साथै अन्य झमेला हुन थालेको डम्मर बिकले गुनासो गरे। ‘अंशबन्डा र किनबेच भएको जग्गाको नक्साको कित्ताकाट भएको छैन,’ उनले भने ‘पितापुर्खाले मौखिक रूपमा भाग लगाइदिएको जग्गामा नै बसोबास गरिरहेका छौं।’

सदरमुकाम बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र नमुना हुँदै महतला भिरसम्म सडक पुगेको छ। बेनीदेखि एक दिनमा गाडीको यात्रापछि पुगिने महतला भिरबाट गुर्जा पुग्न अर्को पूरै दिन हिँड्नुपर्छ। छिमेकी वडा लुलाङदेखि तीन हजार दुई सय मिटर उचाइको देउराली धुरी काटेर जंगल, भिर र खोल्साको जोखिमयुक्त पैदलमार्ग पार गरेपछि गुर्जा पुगिन्छ। लुलाङदेखि गुर्जा पुग्न लाग्ने आठ घण्टाको बाटोमा कुनै पनि बस्ती तथा घर छैनन्।

सडक नहुँदा बेनीदेखि गुर्जा पुग्न तीन दिन पैदल हिँड्नु पथ्र्याे। अक्करे भिर र घना जंगलले घेरिएको गुर्जा म्याग्दीका ४५ मध्ये सडकले नछोएको एक मात्र वडा हो। पहिला पहिला खेतीपाती र जंगलमा आश्रित भएकाले उनीहरूलाई कागजी प्रक्रिया आवश्यक परेन्। व्यवहारमा जग्गाको किनबेच र अंशबन्डा भए पनि कसैले जालसाजी नगर्ने हुँदा समस्या देखिएन्। परिवेश, चेतनाको विकास, व्यवस्था र आवश्यकता परिवर्तन भएसँगै कानुनी र कागजी समस्या देखिन थालेको दोवटे बिकले बताए।

२८५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गुर्जाको २१ रोपनी क्षेत्रफलमा मात्र बस्ती छ। गुर्जाको नक्सा वि.सं. २०३३ सालमा नापी कार्यालयका कृष्ण ज्यापुले तयार पारेका थिए। हालसम्म प्रचलनमा रहेको उक्त नक्सामा बस्तीयोग्य जमिनको दर्ता गरे पनि खेतीयोग्य जमिन व्यक्तिको नाममा दर्ता नहुँदा गुर्जावासी जोतभोग गरे पनि कागजी रूपमा भूमिहीन बनेका हुन्।

साविक गुर्जा गाविसको ६ नम्बर वडामा ३, ८ वडामा १ र ९ नम्बर वडामा पाँच कित्ता मात्र जग्गा व्यक्तिको नाममा दर्ता छ। त्यसबाहेक बस्तीका अधिकांश लालपुर्जाविहीन छन्।  व्यवहारमा जग्गा जमिनको अंशबन्डा र खरिद–बिक्री भएर भोगचलनमा रहे पनि कानुनी रूपमा भने मालपोतमा श्रेस्ता कायम भएको छैन। पछिल्ला दिनमा गुर्जामा पुस्तौं देखिको जग्गाको नामसारी र अंशबन्डाका समस्या बल्झना थालेका छन्। लालपुर्जा भए पनि व्यवस्थित छैन।

वि.सं. २०६५ र २०७५ मा घुम्ती शिविर आयोजना गरेर गाउँमै लालपुर्जा वितरण गरे पनि दलित टोलका अधिकांशको समस्या समाधान हुन नसकेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News