पर्वतको विहादी गाउँपालिका वडा नं. २ बर्राचौरको वडा कार्यालय भवनको उद्दघाटन गरिएको छ । विहिबार विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले नव निर्मित भवनको उद्दघाटन गर्नुभएको हो । ५६ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । नवनिर्मित भवनको उद्दघाटन सँगै नागरिकलाई वडा कार्यालयले आफ्नो सेवा नयाँ भवन बाट दिन थालेको छ ।
भवनको उद्दघाटन गर्दै विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले व्यवस्थित संरचनाबाट मात्रै नागरिकलाई सेवा चुस्त दुरुस्त दिन सकिने बताउनुभयो । गाउँपालिकाको प्रशासनिक भवन देखि वडा कार्यालय भवन नहुदाँ नागरिकलाई सेवा लिन अप्ठेरो हुने हुदाँ गाउँपालिकाले प्रशासनिक भवन देखि सबै वडा कार्यालयका भवन नयाँ बनाउने योजना पहिलो बर्षमै कोरेको बताउनुभयो ।
उहाँले पाँच बर्षे कार्यकाल स्वर्णीम युग नै भएको बताउनुभयो । उहाँले पछिल्लो पाँच बर्षमा विहादी गाउँपालिकाले विकासमा निकै फड्को मारेको बताउनुभयो । “पाँच बर्ष पहिले यहाँको अवस्था कस्तो थियो, तपाईहरुले देखेको र भोगेकै कुरा हो उहाँले स्थानियवासी लाई भन्नुभयो” अहिँलेको अवस्था कस्तो छ, कति परिर्वतन भयो तपाई आफै मुल्याङकन र महशुस गर्नुहोस् । अध्यक्ष भुसालले हालसम्म शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे बताउनुभयो ।
विहादी गाउँपालिकाका मुख्य सडक कालोपत्रेको प्रक्रियामा गईसकेको शाखा सडकको पनि डिपिआर तयार पारि स्तरोन्नती गरेको बताउनुभयो । खानेपानी तर्फ विहादी बासीको प्रत्यक घर घरमा स्वच्छ खानेपानी पुर्याउने अभियानले पनि मुर्त रुप लिइसकेको बताउनुभयो । गाउँपालिका भित्र बिशेषज्ञ सेवा सहितको अस्पताल निर्माण भईरहेको, औद्योगिक क्षेत्र निर्माण हुदैँ गरेको, शिक्षामा गुणस्तर कायम गर्न उच्च प्रविधिको भरपुर प्रयोग गर्दै सिकाईको स्तर वृद्धि गरेको देखि कृषकलाई अनुदान, कृषि उत्पादकत्व वृद्धि गर्न कृषिमा यान्त्रिकीकरण र व्यवसायीकरण तर्फ गाउँपालिकाले धेरै काम गरेको भुसालको भनाई थियो । उहाँले खेतीयोग्य जमिनमा बाह्रै मास सिञ्चाईको व्यवस्था गर्न धेरै स्थानमा सिञ्चाई नहर तथा कुलो निर्माण गरेको पनि बताउनुभयो ।
वडाध्यक्ष ओम प्रसाद कुँवरले निकै मिहेनतका साथ आफ्नै कार्यकालमा नयाँ भवन बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै वडा कार्यालयको भवन नहुदाँ सेवा प्रवाहमा बाधा सिर्जना भएकोमा अब भने उक्त समस्या अन्त्य भएको बताउनुभयो । उहाँले नागरिकलाई वडा स्तर बाट दिईने सेवा लाई चुस्त दुरुस्त राख्न थप प्रभावकारी हुनै बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।
६ वटा वडा रहेको विहादी गाउँपालिकामा वडा नं. ३ रानीपानी, वडा नं. ६ शालिग्रामको नयाँ वडा कार्यालय भवन सञ्चालनमा आईसकेको छ । वडा नं. ४ वहाकी र वडा नं. १ बाच्छाको भने वडा कार्यालय भवन निर्माणाधिन अवस्थामा छ । ५ नं. वडाको भवन भने पहिल्यै नै निर्माण भएको थियो । विहादी गाउँपालिकाको प्रशासनिक भवन पनि गत १ गते उद्दघाटन गरिएको थियो ।
कार्यक्रममा विहादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयाल, वडा नं. १ बाच्छाका वडाध्यक्ष हेमराज आचार्य, वडा नं. ५ उरामका वडाध्यक्ष श्याम केसी लगाएतले बोल्नुभएको थियो ।