पलको दुई बैंकमा रहेको २० लाख रोक्का गर्न पत्राचार,नवलपुर अदालतमा बलात्कारको मुद्दा दर्ता

पलको दुई बैंकमा रहेको २० लाख रोक्का गर्न पत्राचार,नवलपुर अदालतमा बलात्कारको मुद्दा दर्ता

  • Kanchan News

  • शुक्रबार, चैत्र ४, २०७८

  • 143
    SHARES
पलको दुई बैंकमा रहेको २० लाख रोक्का गर्न पत्राचार,नवलपुर अदालतमा बलात्कारको मुद्दा दर्ता

एक नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) को दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न  पत्रचार गरिएको छ।

शाहको ग्लोबल आईएमई बैंकमा रहेको १६ लाख १० हजार २१९ रुपैयाँ र एनएमबी बैंकमा रहेको ४ लाख २५ हजार रुपैयाँ रोक्का गर्न पत्राचार गरिएको प्रहरी स्रोतले जनाएको हो।

स्रोतका अनुसार मुलुकी अपराधसंहिता २०७४ को दफा २२८ मा पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने प्रावधान रहेको र सोही अनुसार मागदाबी समेत परेकाले शाहको खातामा रहेको उक्त रकम रोक्का गर्न पत्रचार गरिएको हो।

अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) बमोजिम पीडित राहतकोषमा जम्मा गरी पाउने व्यवस्थासमेत लागू गर्न माग गरिएको छ।

शाहविरुद्ध बिहीबार जिल्ला अदालत नवलपुरमा मुद्दा दायर भएको छ। प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको फाइलको अध्ययन सकेर बिहीबार मुद्दा दर्ता भएको हो। शाहविरुद्ध नाबालिग गायिकालाई बलात्कार गरेको कसूरमा सजाय हुनुपर्ने मामगसहित मुद्दा दर्ता भएको छ। तर, शाहले भने आफूमाथि लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन्। उनले प्रहरीसमक्ष दिएको बयानमा झुटा उजुरी दिएर फसाउन खोजीको दाबी गरेका छन्।

 

अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगसहित बिहीबार मुद्दा दायर गरेको हो ।

पीडित १५ वर्षीया बालिकाको बुबाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । त्यसका आधारमा मुद्दा दर्ता गर्दा घटना भएको भनिएको होटलको इन्ट्री किताबको प्रतिलिपि, होटल सञ्चालिका सुलोचना कुँवर लगायतको बयान, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, शाहको अडियो रेकर्ड लगायतलाई आधार मानेर जबरजस्ती करणी गरेको दाबी गरिएको छ ।

पीडित किशोरीकी बुबाले दिएको जोहरीमा शाहले ७ चैत २०७७ मा गैडाकोट नगरपालिका–५ स्थित गैडाकोट रिपोर्टमा सुटिङका लागि लगेको वेला करणी गरेको भनिएको थियो ।

‘एक दिनमा सकिने सुटिङ क्यान्सिल गर्न लगाइ ५ दिनसम्म उक्त रिसोर्टमा राखेर नाबालिका छोरी सुतेको कोठामा गइ मादक पदार्थ समेत सेवन गराएर पटकपटक जबरजस्ती करणी भएको थियो’ जाहेरीमा भनिएको थियो, ‘छोरीलाई विवाह गर्छु भनेर प्रेमको नाटक गरी जबरजस्ती करणी भएको थियो ।’

तीन महिनादेखि छोरीले गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखेपछि सोधपुछ गर्दा शाहले देखावटी माया प्रेम गरेको बहाना बनाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएको पीडितकी बुबाले बताएका छन् । गैडाकोट रिसोर्टमा पनि शाहले बलात्कार गरेको बताएपछि जोहरी दिएको उनले भनेका छन् ।

‘कोठा नं. १०२ मा मध्यरातमा करणी’

बयान, होटलको इन्ट्री बुक लगायत सबैले घटना भएको भनिएको बेला पीडित नाबालिका र आरोपित शाह दुबैले घटना भएको होटलमा उपस्थित भएको स्थापित भएको देखिन्छ ।

पीडित बालिकाले सरकारी वकिलको उपस्थिति प्रहरीसँग दिएको बयान अनुसार ७ चैत २०७७ मा अभिनेता शाहले राति ११ बजे फेसबुक म्यासेन्सरमा म्यासेज गरेर ‘म आउँछु ढोका खुल्ला राख्नू’ भनेका थिए । म्यासेजको कुनै जवाफ नफर्काइ बसेको अवस्थामा शाहले आफ्नो कोठा नं. १०२ ढक्ढक्याएको उनले भनेकी छन् ।

‘मैले शाहको आवाज सुनेर ढोका खोल्दा कोठाभित्र प्रवेश गरेर मलाई ललाई फकाई माया गर्छु, विवाह समेत गर्छु भनेर रातभर दुई पटक इच्छा विपरित जबरजस्ती करणी गरेका हुन्’ पीडित नाबालिकाले भनेकी छन्, ‘शाहले मलाई पहिल्यैदेखि मायाको नाटक गरेर यौन शोषण गर्दै आएकोमा हामी बीच भएको सम्बन्धको बारेमा कोही कसैलाई नभन भनेकाले मैले यो कुरा बाहिर भनेको थिइनँ ।’

प्रहरीसमक्ष दिएको बयानमा शाहले चाहिँ अघिल्लो दिन एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको थाहा पाएकाले ‘हिजो जस्तो डर लोगेको छैन नि, राम्रोसँग सुत’ भनेर आफ्नो कोठामा गएको दाबी गरेका छन् ।

साथै, उनले दुई जनाबीचमा विवाद भएपछि दुवै पक्षबीच छलफल गरेर पीडित २० वर्ष पुगेपछि विवाह गर्ने मौखिक सहमति भएको पनि भनेका छन् । बलात्कारको अभियोगमा चाहिँ उनले इन्कारी बयान दिएका छन् ।

प्रहरीले बयान लिएका कलाकार दुर्गेश थापाले पनि घटना भएको दिन दुबै उक्त होटलमा रहेको, पल शाहसहित केही व्यक्ति त्यसदिन बेलुकी मादक पदार्थ सेवन गरेको बताएका छन् ।

‘उनीहरु कुन कोठामा सुते थाहा भएन’ थापाले भनेका छन्, ‘२०७८ सालको असार महिनामा शाहको म्यानेजर कृष्ण जोशीले उनीहरुको सम्बन्ध बारेमा जनकारी गराएपछि पीडितसँग बुझ्दा विवाह गर्छु भनेर फकाइफुल्याइ सुटिङको समयमा जबरजस्ती करणी गरेको बताएकी थिइन् ।’

पीडितले त्यति बताएपछि आफूहरु न्यायको पक्षमा रहेको बताउँदै कानूनी कारबाही गर्दा राम्रो हुन्छ भनेर प्रक्रिया थाल्न सुझाएको उनले उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News