कास्की । सेती नदी र रामघाटको तिर संरक्षण गर्न स्थानीयले माग गरेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९, १० र ११ का सिमानामा पर्ने सेती नदी रामघाट तिरभिर संरक्षणको माग गर्दै मङ्गलवार विभिन्न समूहले प्रशासनमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणमा उक्त ड्याम निर्माण, तिरभिर संरक्षणको प्रकाशित टेन्डर बमोजिम नै यथाशीघ्र गर्नुपर्ने वा स्थानीय सरकारले नै यथाशीघ्र लगानी र कार्यान्वयन गर्ने गरी स्थानीय सरोकार, पीडित जनतालाई लिखित प्रतिबद्धताको लागि माग राख्दै ज्ञापन पत्र बुझाएको संयोजक किसान विश्वकर्माले जानकारी दिनुभएको छ ।
समूहले निजी लगानीकर्ता वा स्थानीय सरकारले यथाशीघ्र गर्ने गरी रामघाट तिरभिर र प्रत्यक्ष सरोकार जनताहरूलाई सो रामघाट परियोजना कम्तीमा १० प्रतिशत शेयर लगानी गर्न पाउने सुनिश्चितता, स्थानीयलाई रोजगारीको प्राथमिकता, शव दाहको उचित व्यवस्थापन, शौचालय प्रतीक्षालय, क्रियापुत्री घर, स्नान घर निर्माणको सुनिश्चितता हुनुपर्ने माग रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
समूहले पोखरा महानगरपालिका सार्वजनिक निजी साझेदारी समितिले मिति २०७७ कात्तिक ७ गते जारी सूचना नं सानिसा २०७७÷०७८ बमोजिम रामघाट क्षेत्रमा सेती नदीमा स्थायी ड्याम निर्माण गरी प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि उठाएको कदममा भने स्थानीयले योजनाको स्वागत गरेका छन् ।
ज्ञापन पत्रमा भनेका छन् रामघाट तिरभिर आसपास बस्दै आएका स्थानीय जनता वर्षेनी आउने बाढी, डुबान तथा तिरभिर आउने भुस्खनलले गर्दा आफ्नो घर बगाउने बास नै उजाड बनाउने डर त्रासले चिन्तित रहनुपर्ने अवस्था भएकोले योजना छिटो सञ्चालनमा ल्याउन माग गरेका छन् ।
माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाँ बजार क्लब, सिद्धमार्ग आमा समूह शान्तिवन आमा समूह र सिद्धमार्ग टोल विकास समूहका अध्यक्षले संयुक्त हस्ताक्षरसहित महानगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन् ।