नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्न लागेकोमा विरोध गरेका छन् ।
संसदको आइतबार बसेको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहँदा रावलले भने समय लिएर बोलेका थिए ।। एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्ने भन्दै उनले भने, ‘यस्तो विषयमा प्रमुख प्रतिपक्षीले विरोध गरिरहेको, सरकारमा रहेका दलहरुको बीचमा सहमति नभइरहेको अवस्थामा यसरी जनताको भावना विपरित टेबल गरिनु आपत्तिजनक छ ।’
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने बताए ।
एमसीसी कार्यसूचीमा राख्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति पनि नभएको भन्दै गुरुङले संसद अवरोध भइरहेका बेला बरु संसद खुलाउन ध्यान दिन आग्रह गरे ।