राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनबाट आफूहरुलाई अलग गर्ने प्रयत्न भइरहेको बताएको छ । गठबन्धनको बैठकमा समेत आफूहरुलाई सहभागी नगराइएको भन्दै जनमोर्चाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकता महशुस गरेर नै पाँच दलीय गठबन्धन बनाइएको थियो ।
अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ । तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ’, जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीबारे मतभेद भएता पनि अन्य पक्षहरुको बीचमा मतभेदहरूका बीचमा सम्झौता गर्ने वा कुनै मध्यमार्गी बाटो निकाल्ने प्रयत्न भइरहेको छ । तर हाम्रो पार्टी एमसीसीबारे त्यसप्रकारको कुनै सम्झौता वा मध्यमार्गी बाटोको पक्षमा छैन । त्यसैले हुन सक्दछ, हाम्रो पार्टीलाई पाँच दलीय गठबन्धनबाट योजनाबद्ध प्रकारले नै अलग गर्ने प्रयत्न भइरहेको छ ।
विज्ञप्तिमा एमसीसीलाई सम्पूर्ण रुपले अस्वीकार गर्नुपर्छ भन्ने पार्टी पहिलेदेखि नै दृढ रहेको स्पष्ट गरिएको छ। एमसीसीबाट देशमा दीर्घकालीन दुष्परिणामहरु हुने पनि जनमोर्चाको जिकिर छ । त्यो अवस्थामा त्यसलाई संसदमा टेबल गर्न गठबन्धनमा सहमति भएको भन्ने समाचार सत्य नभएको पौडेलको विज्ञप्तिमा उल्लेख छ । जनमोर्चाले गठबन्धनलाई तोड्ने कुरा अदूरदर्शीतापूर्ण हुने चेतावनी पनि दिएको छ।