
सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बीचको विवाद पेचिलो बन्दै गएको छ।
पार्टीमा एकलौटी ढंगले निर्णय गरेको भन्दै भट्टराई पक्षले यादवलाई दबाब दिएको छ।
सरकारमा जाने मन्त्रीहरूको नाम एकलौटी ढंगले सिफारिस गरेको र राष्ट्रिय सभा निर्वाचनमा समेत पार्टीमा छलफल नगरेको आरोप भट्टराई पक्षले लगाएको छ।
भट्टराई पक्षले राष्ट्रिय सभामा कम्तीमा ३ जना उम्मेदवार पाउनु पर्ने सर्त राखेको थियो। यादवले सत्तारूढ गठबन्धनसँग २ जनामा मात्रै सहमति गरेको असन्तुष्ट पक्षको आरोप छ।
‘उहाँले एकातिर दुई जनामा मात्रै सहमति गर्नुभयो। अर्कातिर नेकपा (एकीकृत समाजवादी) भन्दा हामी बलियो रहेको प्रदेश ५ मा हामीले उम्मेदवार बनाउन सकेनौं,’ भट्टराईनिकट एक नेताले भने,’प्रदेश १ मा पार्टीका उम्मेदवार हेमराज राईसमेत पराजित हुनुपर्यो। हामीले प्रदेश २ मात्रै जित्न सक्यौं। यसको समीक्षा जरूरी छ।’
भट्टराईले आफूनिकट नवराज सुवेदीलाई प्रदेश ५ बाट राष्ट्रिय सभामको उम्मेदवार बनाउन चाहेका थिए।
भट्टराई पक्षले पार्टीको कार्यकारिणी बैठक बोलाउन माग गरेको छ। यादवले भने यसलाई आलटाल गर्दै आएका छन्। ३५ सदस्यीय कार्यकारीणीमा भट्टराईले बहमुत जुटाइसकेको बताइएको छ।
कार्यकारिणी बैठक नबोलाइए कुनै कदम चाल्न बाध्य हुने भट्टराईनिकट स्रोतले सेतोपाटीलाई बतायो।
सामूहिक निर्णयमा पार्टीलाई चलाउनु पर्ने पक्षमा आफू रहेको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले सेतोपाटीलाई बताए।
‘पार्टी सामूहिक निर्णयका आधारमा चल्नुपर्छ। त्यसको लागि पार्टीको बैठक बोलाउन जरूरी छ,’ उनले भने,’पार्टीको कार्यकारी अध्यक्षसमेत चयन गर्नुपर्छ। कुन व्यक्ति हुन्छ भन्ने महत्वपूर्ण होइन। सामूहिक निर्णय महत्वपूर्ण हो।’
यादवनिकट कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बाहिर हल्ला गरेजस्तो विवाद पार्टीमा नभएको बताए।