कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।
सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।
उपत्यकामा केही स्थानीय तहले निर्णय गरेर भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न थालेपछि प्रशासनले यसलाई कडाइ गरेको हो ।अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।